नियम
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) पीडितलाई कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउने,
(ख) पीडितलाई कोषबाट प्रदान गरिने अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला अदालतको नाममा रकम निकासा गर्ने,
(ग) कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराइएको मुद्दामा अदालतबाट फैसला हुँदा कसूरदार ठहर भएको व्यक्तिले प्रचलित कानून बमोजिम कोषमा जम्मा गर्नु पर्ने त्यस्तो क्षतिपूर्ति वा राहत बापतको रकम जम्मा गरे वा नगरेको अनुगमन गर्ने वा गराउने तथा जम्मा नभएकोमा जम्मा गराउने व्यवस्था मिलाउने,
(घ) उजुरी झुट्टा ठहरेको वा वारदात स्थापित नभएको अवस्थामा कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति रकम पाएको व्यक्तिले प्रचलित कानून बमोजिम फिर्ता गर्नु पर्ने रकम फिर्ता गरे वा नगरेको अनुगमन गर्ने वा गराउने तथा रकम जम्मा नभएकोमा जम्मा गराउने व्यवस्था मिलाउने,
(ङ) खण्ड (ग) वा (घ) बमोजिम रकम असूल उपर गरी कोषमा जम्मा गर्नु पर्ने देखिएमा सम्बन्धित निकायलाई त्यस्तो रकम प्रचलित कानून बमोजिम असुल उपर गरिदिने व्यवस्थाको लागि समन्वय तथा सहयोग गर्ने,
(च) कसूरदारले क्षतिपूर्ति तिर्नु पर्ने ठहर भएको रकम जिल्ला अदालतको तहसिल शाखाले असूल उपर गरे नगरेको, असूल उपर गरेको रकम मध्ये कोषमा दाखिला भएको रकम, कोषमा बुझाउन बाँकी रहेको रकम तथा असूल उपरको क्रममा रहेको रकमको विवरण अच्चावधिक गरे वा नगरेको सम्बन्धमा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्ने,
(छ) यस नियमावलीको अधीनमा रही कसूर पीडितलाई राहत उपलब्ध गराउने रकमको हद निर्धारण गर्ने,
(ज) कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराइएका मुद्दा, कसूर पीडित र उपलब्ध गराइएको क्षतिपूर्ति तथा राहतको अद्यावधिक अभिलेख राखने,
(झ) अदालतको आदेश बमोजिम अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराइएको पीडितको नाम, थर, ठेगाना, मुद्दा तथा त्यस्तो मुद्दा रहेको अदालत, पीडितको नाम, थर, ठेगाना र उपलब्ध गराइएको रकम समेतको विवरण खुलाई अभिलेख राख्ने,
(ज) कोष सञ्चालन सम्बन्धी अन्य काम गर्ने ।